नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा)कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भएकी छन् । बैंकले आज शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै साम्बालाई सद्भावना दूत नियुक्त गरेको हो ।
सम्झौतापत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्टका हेड यज्ञप्रसाद न्यौपाने र साम्बाले हस्ताक्षर गरे । सम्झौताअनुसार साम्बा एक वर्षका लागि बैंकको ब्रान्ड एम्बेसडरका रुपमा रहने छिन् । उनले बैंकको प्रचारमा सहयोग गर्नेछिन् । बैकका सीईयो गोविन्द गुरुङले सफलतालाई संघर्ष र अभावले कहिल्यै नरोक्ने बताउँदै उनको लगावले नै यो सफलता पाउन सम्भव भएको बताए ।
उनले गाउँको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताए । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले यो सम्झौताले महिला फुटबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साम्बाले सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता समेत रहेकी साम्बाले ५१ खेलमा ५३ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।