Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नरेन्द्र मोदी निर्वाचित, कति मत पाए?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू पवित्र शहर वाराणसीको प्रतिनिधित्व गर्ने आफ्नो निर्वाचन क्षेत्रबाट एक लाख ५२ हजार मतान्तरले पुनः निर्वाचित भएका छन्।

मोदी र उनका सहयोगीहरू (एनडीए) मङ्गलबार देशको आम चुनावको मतगणनामा विजयका लागि अघि बढिरहेका छन् तर विपक्षी उम्मेदवारहरूले अग्रता लिँदा संसदीय बहुमत अत्यन्त कम भएको छ। टिप्पणीकार र एक्जिट पोलहरूले मोदीका लागि भारी विजयको प्रक्षेपण गरेका थिए।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार एक दशकमा पहिलो पटक मोदीको भारतीय जनता पार्टी (भाजपा) आफ्नै पूर्णबहुमत प्राप्त गर्न असफल हुन सक्ने देखिएको छ। यसको अर्थ सरकार बनाउन भाजपा आफ्नो गठबन्धन साझेदारहरूमा भर पर्नुपर्नेछ।

बयानब्बे प्रतिशत मत गणनामा भाजपाको ३७ दशमलव एक प्रतिशत सन् २०१९ को यसअघिको निर्वाचनको तुलनामा थोरै कम हो। मुख्य विपक्षी कांग्रेस पार्टीले आफ्नो संसदीय सिटहरू झण्डै दोब्बर बनाउन सक्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगको तथ्याङ्कले भाजपा र यसका सहयोगीहरूले कूल पाँच सय ४३ मध्ये कम्तीमा दुई सय ८२ सिटमा अगाडि रहेको देखाएको छ। यो संसदीय बहुमतका लागि पर्याप्त छ।

तर भाजपा स्वयं भने दुई सय ३९ सीटमा मात्र अगाडि रहेको छ। पाँच वर्षअघिको निर्वाचनमा भाजपाले प्राप्त गरेको तीन सय तीन सिटभन्दा यो धेरै कम हो। कांग्रेस भने अघिल्लो निर्वाचनमा जितेको ५२ सिटबाट बढेर ९९ मा अगाडि रहेको छ।