Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ट्याक्सी चालकसँग मिलेर यात्रु लुटेको आरोपमा गोरखाकी २८ वर्षीया युवती पक्राउ

ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी एक युवती पक्राउ परेकी छिन् । लुटपाटमा संलग्न युवतीसहित लुटिएको सिक्री बेच्न सहयोग गर्ने र किन्ने गरी तीन जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरुमा ट्याक्सीका यात्रुको गलाको सिक्रि थुत्ने गोरखा घर भई काठमाडौं कपुरधारा बस्दै आएकी २८ वर्षीया उषा विष्ट, चोरीको सिक्री बेच्न सहयोग गर्ने सर्लाहीको राजघाट नगरपालिका–६ का रामहरि खड्का र सिक्री किन्ने सोही ठेगानाका ३७ वर्षीय हरि शंकर चौधरी छन् । ३० वैशाख दिउँसो ३:१५ बजेतिर सुन्धाराबाट ट्याक्सी चढेका कविराज नेपालीको गलाको सिक्रि सोही ट्याक्सीमा सवार युवती विष्टले लुटेकी थिइन् ।उनले ट्याक्सी चालकसँग मिलमतो गरेर लुटपाटट गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

ट्याक्सी चालकसँग मिलेर चालकसँगकै अगाडिको सिटमा बस्ने र यात्रु आएपछि पछिल्लो सिटमा बसेर यात्रुसँग निकट भएर लुटपाट गर्ने गरेको पाइएको छ । सोही शैलीमा यात्रु नेपालीको गलाको सिक्रि लुटपाट भएको प्रहरीले जनाएको छ । सिक्री लुटिएपछि उनले प्रहरी वृत्त जनसेवामा जाहेरी दिएका थिए ।

माछापोखरी क्षेत्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी युवती विष्टविरुद्ध चोरीको कसुरमा ५ दिने र सुन बेच्न सहयोग गर्ने र किन्ने युवालाई ४ दिनको म्याद थप गरी प्रहरी वृत्त जनसेवाले अनुसन्धान अघि बढाएको छ । ट्याक्सी चालक भने अहिलेसम्म फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका चौधरीबाट लुटिएको सिक्री समेत बरामद भएको छ ।