Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सासू-ससुराको स्याहार गर्ने बुहारीलाई सम्मान गरिने

सासू-ससुरासहित परिवारमा रहेका अन्य ज्येष्ठ नागरिकप्रति जिम्मेवारी बढाउन जिल्लाको कुश्मा नगरपालिका–८ चुवाले भने बुहारीलाई सम्मान गर्ने कार्यक्रम सुरु गरेको छ।

समाजको गहनामा रहेका ज्येष्ठ नागरिकप्रति पछिल्लो पुस्ताको चासो कायम गराउन, पछिल्लो पुस्तालाई ज्येष्ठ नागरिकप्रति जिम्मेवार बनाउन तथा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई मजबुत बनाउन बुहारीहरूलाई सम्मान गर्ने कार्यक्रम गर्न लागिएको वडाध्यक्ष सुरेन्द्र केसीले बताए।

वडाअध्यक्ष केसीले शुक्रवार एक सुचना जारी गर्दै उत्कृष्ट बुहारीलाई सम्मान गरिने जानकारी गराएका छन् । अध्यक्ष केसीले वडा भित्र रहेका बुहारी मध्ये उत्कृष्ट बुहारी छनौट गरी सम्मान गरिने जनाएका छन् । वडा भित्र रहेका बुहारी मध्ये विगत लामो समय देखि आफ्ना एकाघरका सासु ससुरा तथा बृद्ध अवस्थामा रहेका ब्यक्तिलाई मर्यादित तथा अनुशासित ढंगबाट स्याहार सुसार गरेको बुहारीलाई सम्मान गरिनेछ । यसैगरी बृद्ध अवस्थामा नरहेका तर कडा रोग लागेका साथै शारीरिक अपांगताका कारण हिडडुल गर्न तथा अन्य कृयाकलाप गर्न नसक्ने एकाघरका सासु ससुरा तथा अन्य सदस्यहरुलाइ मर्यादित तथा अनुशासित ढंगबाट रेखदेख तथा सुसार गर्ने बुहारीलाई सम्मान गरिनेछ ।

पारिवारिक, सामाजिक मेलमिलापनमा रहेको सभ्य, अनुशासित र मर्यादित बुहारीलाई वडाले प्राथमिकता दिने वडाअध्यक्ष केसीले उल्लेख गरेका छन् । आफूलाई योग्य लागेका बुहारीले वडा कार्यालयमा सम्मानका लागि निवेदन दिनुपर्ने वडाकार्यालयद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने वडा स्तरीय स्वीकृत योजना अन्तर्गत उत्कृष्ट बुहारी सम्मान कार्यक्रम सञ्चालन गर्न लागिएको र सम्मान पाउनको लागि केही मापदण्डहरू पूरा भएको हुनुपर्ने वडाध्यक्ष केसीको भनाइ छ। कोही पनि बुहारीले आफूले आफ्ना सासू र ससुरासहित परिवारमा रहेका अन्य ज्येष्ठ सदस्यहरूप्रति जिम्मेवारी पूरा गरेकी छु भन्ने लागेको छ भने वडा कार्यालयमा निवेदन दिनुपर्छ। निवेदन दिनका लागि वडा कार्यालयले सात दिनको म्याद दिएको छ।

उत्कृष्ट बुहारीको रूपमा सम्मान पाउनको लागि वडा कार्यालयले तीन वटा मापदण्डहरू निर्माण गरेको छ। पहिलो विगत लामो समयदेखि आफ्नो एकाघरका सासू ससुरा तथा वृद्ध अवस्थामा रहेका व्यक्तिलाई मर्यादित तथा अनुशासित ढङ्गबाट स्याहार सुसार गरेको हुनुपर्ने र त्यो कामलाई समाजले मूल्याङ्कन गरिरहेको हुने भनिएको छ।

दोस्रोमा वृद्ध अवस्थामा नरहेका तर कडा रोग लागेका साथै शारीरिक अपाङ्गताका कारण हिँडडुल गर्न तथा अन्य क्रियाकलाप गर्न नसक्ने एकाघरका सासू, ससुरा तथा अन्य सदस्यहरूलाई मर्यादित तथा अनुशासित ढङ्गबाट रेखदेख तथा स्याहार सुसार गरेको हुनुपर्ने सर्त राखिएको छ। यस्तै तेस्रो सर्त समाजको मूल्याङ्कन अनुसार पारिवारिक, सामाजिक मेलमिलापमा रहेको, सभ्य, अनुशासित र मर्यादित बुहारीलाई सम्मानको लागि प्राथमिकतामा राख्ने भनिएको छ।

वडाध्यक्ष केसीले वडामा रहेका पाँच सय १६ घरमध्ये करिब ७० प्रतिशत घरमा बुहारीहरू रहेको बताउँदै मापदण्ड पूरा भएका जति छन् उनीहरू सबैलाई सम्मान गरिने बताए। ती बुहारीहरूले सम्मान सहित केही नगद पनि वडाका तर्फबाट प्राप्त गर्ने छन्।

‘आजका बुहारी असल भएर राम्रो संस्कार बसाल्न सके भोलिका छोरी र बुहारी यसै पनि संस्कारी र सभ्य हुन्छन्। विवाह गरेर घरमा आएपछि सामान्य कुरामा नै खटपट हुने र एकल परिवार बनाउने अभ्यास धेरै भएको अवस्थामा यो कार्यक्रमले केही काम गर्न सक्छ’, वडाध्यक्ष केसी भन्छन्, ‘आज जस्तो संस्कार बसाल्यो भोलि त्यस्तै संस्कार बस्छ। कुनै घरमा बुहारीको व्यवहार राम्रो भए त्यो घरको छोरीले पनि सिक्ने त्यही हो र उसले आफ्नो विवाहपछि ज्येष्ठ नागरिक वा अपाङ्गता भएका सदस्यहरूलाई उस्तै माया ममता दिन सक्छिन्।’