भारतको बैंग्लोरमा बझाङ घर भएका एकै परिवारका पाँच नेपालीको ज्यान गएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका–११, सुइलका एकै परिवारका पाँच जनाको मृत्यू भएको हो ।
घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएका बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।
झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।
उपचारमा सहयोग गर्न आर्थिक सहयोग संकलनमा जुटेकी जमुना पौडेलका अनुसार सोमबार बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको पनि मृत्यु भएको हो । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यू भएको थियो । यसअघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर मृत्यू भएको थियो ।
मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । उनी बैंग्लोरको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाइको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए । घाइते बोहरा परिवारका ५ जनाको उपचारका लागि नेपाल र भारतमा आर्थिक सहयोग संकलन गरिएको थियो । उनीहरूको शरीर पूरै जलेको थियो । मृतक तीन जनाको बैङ्लोरमै अन्त्यष्टि गरिएको छ ।
मदन र जेठी छोरी मिरिताको पनि सोमबार त्यहीँ अन्त्यष्टि गरिँदैछ । मृतक मदनका बुवा ६० वर्षीय विष्णु र ५५ वर्षीया आमा जुनकला दुई महिना पहिले छोरा–बुहारी र नातिनातिनासँग भेटघाटका लागि बैङ्लोर गएका थिए । लामो समयदेखि बैङ्लोरमा बस्ने छोरा, बुहारी र नातिनातिनासँग भेटघाट भएको थिएन । बुवा विष्णु यसअघि पनि भारत गइरहन्थे । उनी श्रीमती जुनकलालाई लिएर बैङ्लोरमै चौकीदारीको काम गरिरहेका थिए । वृद्धअवस्थामा छोराको परिवार ढलेको शोकमा पीडाले उनीहरू विक्षिप्त छन् । घटनापछि उनीहरू सम्हालिन सकेका छैनन् ।