Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बालेनले भत्काएको न्यूरोडको बाटो सडक विभागले टाल्न थाल्यो

काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएको न्यूरोडको बाटो सडक विभागले टाल्न थालेको छ । मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्ध शालिकतर्फको विशाल बजार अगाडि पीच काटिएको थियो ।

सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुनःस्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो । महानगरले अटेरी गरेपछि सडक विभागले आज आफै पिच टाल्न थालेको हो ।

पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने योजनाअनुरूप मेयर शाहले सडक काट्न थालेका थिए । त्यसक्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकायबीच असमझदारी बढेको थियो ।

न्यूरोडको सडक काट्ने काम डिभिजनले रोकेकै दिन बालेनले रिङरोड विस्तारमा ढिलाइ गरेको भन्दै सडकको धुलो संकलन गरेर विभाग अगाडि फालेका थिए भने मन्त्रीको घरमा समेत फाल्ने चेतावनी दिएका थिए । न्यूरोडको सडक उसै पनि साँघुरो रहेको भन्दै थप चौडाइ कटाएर फुटपाथ बनाउँदा सवारी आवागमनमा अवरोध हुने भन्दै केही दिनअघि कार्यपालिका बैठकमा वडाध्यक्ष चिनीकाजी महर्जन र मेयर शाहबीच भनाभन नै भएको थियो ।