Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गुल्मीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, घाइते सातमध्ये चार जना गम्भिर

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिका–८ भार्से की ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए ।

सोमबार बिहान कालिगण्डकी गाउँपालिका– ४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफै अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा आठ सवार रहेका थिए ।

घाइते सातमध्ये चार जनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताए । घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको छ । दुर्घटनामा परी घाइते हुनेमा २९ वर्षीय केशव राना, ३७ वर्षीया रीता छन्तेल, चार वर्षीया ईरिसा छन्तेल, २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल, २३ वर्षीय मेख बराल घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे उद्धार अनुसन्धानका लागि पूर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक घनश्याम रिमालको कमाण्डमा पाँच जनाको टोली खटिएको छ ।