Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पूर्व सहसचिव सावित्री राजभण्डारी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले पूर्व सहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

विशेष अदालतले ११ मंसिर, २०६९ मा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले दुई करोड ४६ लाख १९ हजार ९३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने र त्यति नै थप जरिवानाको फैसला गरेको थियो । विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।

२०२२ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी अवकाश पाउने समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव थिइन् । उनी लामो समय अर्थ मन्त्रालय र मातहतका निकायमा बसेकी थिइन् । सावित्री पूर्व निर्वाचन आयोगका प्रमुख आयुक्त अच्युतनारायण राजभण्डारीकी पत्नी हुन् ।

सावित्रीसँगै उनले भ्रष्टाचारबाट कमाएको सम्पत्ति लुकाएको अभियोगमा विवाहिता छोरी मोनिसा राजभण्डारी (बस्नेत) पनि दोषी ठहर भएकी छन् । सावित्रीले मोनिसाको नाममा हिमालयन बैंक र नेपाल बंगलादेश बैंकमा गरी दुई करोड ५२ लाख ९३ हजार रुपियाँ राखेको अख्तियारले पत्ता लगाएको थियो । त्यस रकममध्ये २ करोड ४६ लाख रुपँयाँको स्रोत खुल्न नसकेको अदालतको ठहर छ । यो मुद्दा २०७० मंसिर २७ मा सर्वोच्च पुगेको हो ।