Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा सर्वोच्चले साउन १३ मा फैसला सुनाउने

सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा आउँदो साउन १३ गते फैसला सुनाउने भएको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर १३ साउनमा फैसला सुनाउने मिति तय गरेको हो । त्यसअघि २१ असारसम्म बहस नोट पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका हुन् ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।

विशेषको फैसलाविरुद्धको मुद्दा २०६९ फागुन ६ मा सर्वोच्च पुगेको थियो । जोशी र अख्तियार दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन् । विशेषले तोकेको सजाय अपुग रहेको भन्दै अख्तियारले बढी सजाय माग गरेको छ भने जोशीले सफाइ पाउनुपर्ने जिकिर गरेका छन् ।