Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बालमन्दिर, बाँसबारी, टीकापुर र गिरीबन्धुलगायत सबैको फाइल खोल्छौँः रास्वपा

‘पुरानालाई दोष थोपरेर जस लिन आएका होइनौं, परिवर्तनमा सबैको योगदान हुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरीबन्धु प्रकरणमा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ । आज आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनीष झाले बालमन्दिरको जग्गा, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरण लगायतका फाइल पनि खोल्ने बताएका हुन् ।

‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे । उनले राजनीतिक परिवर्तन बहुआयामिक हुने भएकाले एउटैको योगदानले परिवर्तन सम्भव नहुने प्रष्ट बताए । पुराना पार्टीले परिवर्तनका लागि गरेका संघर्षको कारण आफूहरुले अहिले राजनीतिक अवसर प्राप्त गरेको भन्दै सांसद झाले त्यसका लागि धन्यवाद दिए ।

यद्यपि, कोर्स परिवर्तन भएसँगै करिकुलम पनि परिवर्नत गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘राजनीतिमा दुईटा कुरा भन्न सकिँदैन । एउटा कपिराईट ९प्रतिलिपि अधिकार० र अर्को क्रेडिट (जस) । किनकी कुनै एउटा डाइमेन्सनले चेन्ज हुँदैन राजनीति । कुनै एउटा युद्धले राजनीति चेन्ज भएको पनि छैन । त्यो मल्टिडाइमेन्सनल (बहुआयामिक) हुन्छ । सबैको योगदान रहन्छ ।’

सदन, राजनीति र राज्य व्यवस्थाका विषय आफूहरुले बुझ्ना बाँकी रहेको र बुझ्दै गरेको भन्दै सांसद झाले भने, ‘हामी प्रयास गर्दैछौं, हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको होइनौं । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौं र बागबजारमा यति चोटी टायर बाल्यौं भन्ने आधारमै राजनीतिमा उभिरहेका पनि छैनौं । हामीसँग अरु धेरै आधारहरु छन् । केही गर्न आएका हौं, केही गर्ने प्रयास गरिरहेका छौं ।’