Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सांसद शाहीको प्रश्नः ‘अमेरिकाले सन्दीपलाई भिसा दिएन, झण्डा हल्लाएर हिँड्न प्रधानमन्त्रीलाई लाज लाग्दैन?’

परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको विषयमा प्रश्न उठाएका छन् ।

सांसद शाहीले पञ्चशीलको सिद्धान्तविपरीत अमेरिकाले नेपाली खेलाडीलाई भिसा नदिएको बताए । उनले क्रिकेटर सन्दीप लामिछानेको कुरा उठाउँदै भिसा नदिनु पञ्चशीलविरुद्ध भएको बताए । उनले लामिछोलाई भिसा नदिनु सन्दीप र नेपालीको मात्र नभएर सिङ्गो देशको अपमान गरेको उल्लेख गरे ।

‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन । आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ । परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने ।

सांसद शाहीले नेपालको बेइज्जत हुँदा पनि काम गर्न नसक्ने भन्दै खेलकुद, पराष्ट्रमन्त्री र मन्त्रालयको नैतिकतामा प्रश्न उठाए । ‘अदालतले न्याय दिन्छ, क्यानले नाम पठाउँछ, आईसीसीले स्वीकृत गर्छ, खेलाडीको भिसा लाग्दैन । अनि, प्रधानमन्त्री र मन्त्री देशको झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन?’, उनले भने, ‘मन्त्रीले स्टन्टबाज मात्र गर्ने हो?’