राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा आज उनले नेपालकै मध्यभागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन योजनाबद्ध ढङ्गले लाग्नुपर्ने बताएका हुन् ।
डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताए । उनले भने, ‘खेलकुदमा नेपालले धेरै प्रगति गरेको छ । अहिलेको बजेटमा पनि खेलकुदतर्फको रकम केही वृद्धि भएको छ । खेलकुदको विकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्छ । यहाँ खेलकुद विकासका लागि के गर्न सकिन्छ त्यसबारेमा सम्बन्धित पक्षसँग पहल गर्नेछौँ ।’
आज घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ। दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेट खेल्दै गर्दा खेल स्थगित भएको हो । भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो । शुक्लागण्डकीले भिमादलाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनलयात्रा तय गरेको थियो। घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो । तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल भएकामा भिमाद तेस्रो भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार एक सय ११, द्वितीयलाई रु ५१ हजार एक सय र तेस्रो हुनेलाई रु २५ हजार एक सय ११ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिए । प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिकाबाहेक नौवटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा ऋषिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र देवघाट गाउँपालिकाको सहभागिता जनाएका छन् ।