Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबु–आमालाई दिनुपर्छः मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबु आमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छिन् ।

भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औं स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उनले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गरिन् ।

आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भए पनि आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्न थालेपछि ऐन पारित भएसँगै सरकारले कमाइको १० प्रतिशत बाबु आमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ छ । विधेयक पारित भएर ऐनले दिएको अधिकारलाई सात सय ५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भन्दै उनले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने बताइन् ।