Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मन्त्रालयलाई बजेट अपुग भएकोमा महिलामन्त्री असन्तुष्ट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला मन्त्रालयमा अहिलेको नीति तथा कार्यक्रमबाट पनि पर्याप्त बजेट नआएको गुनासो गरेकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित इनफ अभियानको औपचरिक सुरुवात कार्यक्रममा उनले महिला मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा पनि पर्याप्त बजेट नआउनु दुखद् विषय रहेको बताइन् ।

उनले भनिन्,‘ मुलुकमा ५१.४ प्रतिशत महिला र अलि तल परेका बालबालिका ११ प्रतिशतभन्दा बढी छन । जेष्ठ नागरिक आठ प्रतिशतभन्दा बढी छन् । अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको संख्यालगायतलाई हेर्दा मन्त्रालय धेरै संवेदनशील र महत्वपूर्ण छ । विभेदमा परेको उनीहरुलाई राज्यले अविभावकत्व दिने हो तर यसमा बजेटको सीमा पर्याप्त खालको छैन ।’

उनले बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरुसँग मिलेर महिला बालबालिकाको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । १५ पञ्चवर्षीय योजनाले नसमेटेका कुराहरु १६ औं पञ्चवर्षीय योजनामा प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।  

उनले भनिन्, ‘बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरुसँग मिलेर हामीले मन्त्रालयसँग सम्बन्धीत क्षेत्रमा काम गर्नुपर्ने छ । सँगगँसै हाम्रो १६ औं पञ्चवर्षीय योजना अहिले आउँदै छ । १५ औं योजनाले देखाएका विषयहरु १६ औं योजनाले संकेत गरेको कुराहरु त्यसमा पनि अझ अलि पछाडि परेको ठाउँहरुलाई प्राथमिकतामा राख्नुपर्छ ।