Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहितको रिट आज पनि पोखरेलकै इजलासमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज बिहीबार पनि न्यायाधीश सुनिलकुमार पोखरेलकै इजलासमा पेशी तोकिएको छ । बुधबार पोखरेलकै इजलासमा तोकिएको उक्त रिट निवेदन दिएर हटाइएको थियो ।

तर आज पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको छ । सो मुद्दाको पेशी आज तेस्रो नम्बरमा रहेको छ । हिजो १० नम्बरमा रहेको थियो ।आज पनि पोखरेलकै इजलासमा पेशी परेपछि हटाउने वा बहस गर्ने विषयमा आफूहरू छलफल गरिरहेको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले बताए ।

पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेकाले उनले बुधबार सोही कुरा राखेर हेर्न नमिल्नेबारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्तिपछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका थिए । सो रिट सुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको भएपनि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो ।

रिटमा गृहमन्त्री लाछिछानेमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने, विभिन्न जिल्लामा ठगीको अभियोगपत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर गरिएको छ । रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।