Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कैलालीमा भेटियो नयाँ प्रजातिको चरा

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पंक्षी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् ।

यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको संख्या तीन सय ८१ पुगेको छ । गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, संख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पंक्षी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।