Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

‘मापसे’ मा परेकालाई सडकमा ट्राफिक व्यवस्थापन स्वयंसेवकका रूपमा खटाइयो

ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको एसएसपी जीवन श्रेष्ठले बताएका हुन् ।

 ‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार आजबाटै कार्यान्वयनमा गइसकेका छौं, बिहान ९ बजेदेखि ५ बजेसम्म उहाँहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुहुनेछ’, श्रेष्ठले भने, ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा उहाँहरु खटिनुभएको छ ।’

बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् । गृहमन्त्री रवि लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए । त्यसको साटो मापसे लगायतका कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकको रुपमा खटाइने उनले बताएका थिए ।

‘त्यसको कार्यान्वयन स्वरुप सचेतना कक्षा लिन आउनुभएकाहरुलाई सडकमा पठाएका छौं’, उपत्यका ट्राफिक प्रहरी महाशाखाका एसएसपी श्रेष्ठले भने, ‘कार्यालयमा केही समय सचेतनासम्बन्धी कक्षा लिएपछि उहाँहरु फ्लोरिसेन्ट ज्याकेट लगाएर खटिनुभएको हो ।’हरेक समूहको साथमा एक जना प्रशिक्षित ट्राफिक प्रहरी हुने श्रेष्ठ बताउँछन् । ‘उहाँहरुले अब सडकमै उभिएर आफ्नो सुरक्षा पनि हेर्नुहुन्छ र टाफिक प्रहरीलाई पनि सहयोग गर्नुहुन्छ’, उनले थपे ।

उपत्यकामा १८ सय ट्राफिक प्रहरी सडक व्यवस्थापनमा खटिन्छन् । तीमध्ये कम्तीमा ३ सय महिला प्रहरी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार, अहिले दैनिक कम्तीमा ३ हजार जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । तीमध्ये सचेतना कक्षा लिनुपर्नेहरु दैनिक ६ सय जना हुने ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।