Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सरकारले पुराना आयोजनालाई अलपत्र पार्ने बजेट ल्यायोः डा. डिला संगौला

पुर्वसांसद तथा नेपाली काग्रेंसकी केन्द्रीय सदस्य डा. डिला संगौला पन्तले सरकारले पुराना आयोजनालाई अलपत्र पार्ने हिसावले बजेट ल्याएको आरोप लगाएकी छ्न ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै डा. संगौलाले बजेट भाषणमा उल्लेख भएका कार्यक्रम झट्ट हेर्दा र सुन्दा लोकप्रिय लागेपनि यो बजेटले पुराना आयोजनालाई अलपत्र पार्ने र जनताका उद्देश्य पुरा नहुने किसिमका कार्यक्रमहरु आएको बताइन ।

लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने भन्दै ६ प्रतिशतको आर्थिक वृद्धिदरमा पुग्न सकिने अवस्था समेत नरहेको उनले बताइन । ‘बजेटरी सुधार केही छैन कृषि उत्पादनमा आधारित अनुदान दिने व्यवस्था कटौति गर्नु दुर्भाग्यपूर्ण छ । बजेट कनिका छर्ने प्रबृत्तिको छ । आफ्ना कार्यकर्ता र समर्थकबाट आएका योजना प्राथमिकतामा छन भने ठूला आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको छैन । सरकारले सबै क्षेत्रलाई छुनेगरीमात्र बजेट ल्याएको छ लक्ष्यमा पुग्नेगरी छैन । त्यसैले बजेटबाट उत्साहित हुने अवस्था छैन । ‘ उनले भनिन ।

सरकारले मंगलवार आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो । उसले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएको छ आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रा स्फीति ५।५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ ।