Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गणतन्त्र नागरिकको जीवनशैलीकोरुपमा संस्थागत भएको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नागरिकको जीवनशैलीकारुपमा संस्थागत भएको बताएका छन् । उनले गणतन्त्र एउटा राजनीतिक व्यवस्थामात्रै नभएर शासकीय पद्धति र जीवनशैली भएको बताएका छन् ।

मंगलबार १७औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको दाबी गरेका छन् ।

‘गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति हो,’ दाहालले सन्देशमा भनेका छन्, ‘अझ त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो । तसर्थ, यसका लाभलाई आम नागरिकमा पु¥याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ ।’

उनले गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको भन्दै यो व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गरेको बताएका छन् ।