Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जनप्रतिनिधिले गलत गर्यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती गर्‍यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको बताएका छन् ।

मंगलबार १७औँ गणतन्त्र दिवसको सन्दर्भमा अध्यक्ष ओलीले शुभकामना सन्देश दिँदै गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र भएको बताएका छन् । ‘आजको दिन एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैँले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन हो,’ अध्यक्ष ओलीले भनेका छन्, ‘आफैँले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरुलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्रै पाइन्छ । कहिलेकाही हामी गलतलाई चुन्न सक्छौँ । तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन ।

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्न अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैँ गलत छ । हामीले अधिकार पाएका छौँ । सँगै कर्तव्य पनि नभुलौँ ।’ उनले अधिकार माग्नेले कर्तव्य पनि ठीक ढंगले निभाउनुपर्नेतर्फ संकेत गरेका छन् ।