Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिरीजंघा गाउँपालिकाले ल्यायो गाउँमै जुस उद्योग स्थापना गर्ने योजना

ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले स्थानीय कृषि तथा रोजगार प्रबर्द्धनका लागि पालिकाभित्रै सार्वजानिक निजी साझेदारी मोडलमा आगामी आर्थिक वर्षभित्र फलफुल जुस उत्पादन कम्पनी निर्माण गर्ने भएको छ ।  

हालै सम्पन्न पालिकाको १५ औं गाउँसभामा आगागी आर्थिक वर्ष २०८१।०८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त परियोजनालाई उच्च प्राथमिकताका साथ पहिलो नम्बरमै समावेश गरिएको छ । चालु आर्थिक वर्षमै पालिकामा उत्पादित फलफुलहरुलाई प्रशोधन गरि जुस उत्पादन गर्नका लागि विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार भईसकेको र आगामी आर्थिक वर्षमा विगतदेखि नै पालिकामा संचालित “सिरीजंघाको सान, उद्यमशील किसान” कार्यक्रमलाई निरन्तरता दिदै जुस उत्पादन कम्पनीमा लागि आवश्यक पर्ने फलफुल खेतीलाई थप प्रभावकारी बनाउन किवीको नर्सरी,वेर्ना उत्पादन र विस्तारमा समेत जोड दिईने बताइएको छ । 

यसैगरी, “सिरीजंघाको गौरव, कंचनजंघा” भन्ने मुल नाराका साथ पर्यटनतर्फ नेपाल सरकारसंगको लागत साझेदारीमा निर्माणाधीन याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी, चैराम हुदै विश्वको तेस्रो सर्वोच्च शिखर कंचनजंघाको बेस क्याम्प९केबिसी०सम्म जाने साहसिक पदमार्गलाई पालिकाको गौरव आयोजनाको रुपमा निरन्तरता दिइने र चालु आर्थिक वर्ष २०८०।०८१ मा गरिएको अध्ययन प्रतिवेदन अनुसार सो साहसिक पदमार्गअन्तरगत कम्तीमा २ स्थानमा व्यवसायीहरुसंगको साझेदारीमा होम स्टे स्थापना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिने भएको छ । 

8e5336ee-8297-4f92-b6f9-2360fac3abc5.jpg

पालिकामा निर्माणाधीन १० शैयाको आधारभुत अस्पताल भवन निर्माण सम्पन्न  भई आगामी आर्थिक वर्षभित्रै संचालनमा आउने, सिरीजंघा गाउँपालिकामा रहेको नेपालको पहिलो तथा एक मात्र लिम्बू संग्राहलय समेतलाई समेटेर मुन्धुम पर्यटन पार्क निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार गरि निर्माणका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । हालै सम्पन्न पालिकाको १५ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि सिरीजंघा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले १०६ बुँदे नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

पालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावोले सिरीजंघामा कृषि तथा फलफुल उत्पादनमा प्रचुर संभावना रहेको बताउदै गाउँमै रोजगार प्रवर्द्धन र युवाहरुलाई उत्पादनसंग जोड्नका लागि पालिकाले सार्वजानिक निजी साझेदारी मोडलमा जुस उत्पादन उद्योग संचालन गर्न लागेको बताउनुभयो । यसले गाउँघरबाट युवा पलायन रोक्न समेत टेवा पुग्ने विश्वास उपाध्यक्ष डा. मावोको छ ।