Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गोरखाको साम्दोमा सशस्त्रको बिओपी स्थापना

सशस्त्र प्रहरी बल नेपालले गोरखास्थित चीनको सीमातर्फ बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरेको छ । चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बिओपी स्थापना गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यससँगै चीनतर्फ बिओपीको संख्या १० वटा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करिब १ सय ६४ किलोमिटर उत्तरतर्फ छ । नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरू जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायत कार्यहरू गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

समुन्द्री सतहतबाट करिब ३ हजार ८ सय ७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुइला नाका छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला सहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । हाल भारतको सीमानातर्फ २४४ र चीनको सीमानातर्फ १० गरी बिओपीको संख्या २५४ वटा पुगेको छ ।