Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चितवनमा चार वटा गाडी एकै ठाउँमा ठोक्किँदा एकको मृत्यु, २३ जना घाइते

चितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चार वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । गए राति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाइते भएको र उनीहरुको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै बाटो दुवैतर्फ अवरोध भएकोमा राति साढे दुई बजेपछि एकतर्फी र अहिले बिहान साढे चार बजेपछि दुवैतर्फ बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।