Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

यातायातमन्त्री महासेठलाई मेयर बालेनले पठाए धुलो ‘उपहार’ (भिडियोसहित)

काठमाडौं महानगरले बबरमहलस्थित सडक विभागको गेट अगाडि फोहोर थुपारी दिएको छ । महानगरको टिपरले अन्यत्रबाट ल्याएको फोहोर विभाग अगाडि थुपारेको हो ।

फोहोर थुपारेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई मेयर बालेन्द्र शाह ९बालेन० ले धुलो उपहार पठाएको बताएका छन् । उनले सडक विभागले काठमाडौंमा सडक विस्तारको काममा ढिलासुस्ती गर्दा महानगरबासीले धुलो खानुपरेको भन्दै मन्त्रीलाई नै धुलो उपहार पठाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु माया सम्झेर स्वीकार्नु होला ।’

मेयर बालेनले विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।’