Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नुवाकोटको तादीखोलामा पौडी खेल्दा दुईजनाको मृत्यु

 नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुईजनाको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार, डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका निम्ति त्रिशूली अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । तादीखोलामा पौडी खेल्ने गएका ६ युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो ।

दिउँसो २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका निम्ति अस्पताल पुर्‍याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।