Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सडक विभाग र डिभिजन सडक कार्यालय बाहिर काठमाडौं महानगरपालिकाले थुपार्‍यो धुलो

काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गरेका छन् ।

मेयर साहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका हुन् । मेयर शाहले स्टाटससँगै सडक विभाग अन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो फ्याँकिएको भिडियो समेत सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् । माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।

काठमाडौंमा हुने आधा भन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला । 

चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो ।