Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेका छन् ।

प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले शुक्रबारको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित गराएका छन् । सभामुख घिमिरेका अनुसार, अर्को बैठक आगामी जेठ १३ गते बिहान ११ बजे बस्नेछ ।

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको विपक्षी नेताहरुको बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो । बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

‘गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय भएको छ,’ शाहीले भने, ‘सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको छ ।’ विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरू सहभागी थिए । संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको कार्यदलको बैठकले हालसम्म सहमति जुटाएको छैन ।