Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिरोहियाको सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि बयान

सिरोहियाको पक्षमा सात वरिष्ठ अधिवक्तासहित १२ वकिलको टोली

धनुषाको प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको झण्डै दुई घण्टादेखि बयान चलिरहेको छ । शुक्रबार बिहान झण्डै ११ बजेदेखि सरकारी वकिल कार्यालयमा सिरोहियाको बयान जारी रहेको सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालले जानकारी दिए ।

सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालका अनुसार, बयान सकेर मात्रै उनलाई अदालत लैजाने तयारी छ । सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, मधेस प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत जिल्ला अदालत, धनुषा पुगिसकेका छन् । धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न सुरुमा तीन दिनको म्याद दिएको थियो ।

सिरोहियालाई थप हिरासतमा राख्न अदालतले आज अनुमति दिनुपर्ने हुन्छ । अदालतले अनुमति नदिए उनलाई छाड्नपर्ने हुन्छ । नागरिकतासम्बन्धी विवादमा सिरोहिया थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट गत मंगलबार पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनलाई जनकपुर लगिएको थियो । बुधवार धनुषा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतबाट अनुमति माग्यो ।

जिल्ला सरकारी वकिल कार्यालयले ५ दिनको म्याद थप्न सिफारिस गरेकोमा अदालतले तीन दिनको म्याद दियो । प्रहरीले अनुसन्धान नसकेको भन्दै सिरोहियालाई आज पुनः अदालतमा पेश गरेर म्याद थप्न माग गरेको छ । तर सिरोहियालाई हिरासतमुक्त गराउन ७ वरिष्ठ अधिवक्ता र ५ अधिवक्ताले आज बहस गर्ने भएका छन् ।