Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसदअघि टीओआरमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज शुक्रबार पनि बस्दैछ । हिजो सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राख्दै आएको छ । नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कार्यदलको बैठक आज बिहान बस्ने तयारी रहेको जानकारी दिएका छन् । उनले भने, ‘टीओआर टुंग्याउन आज बिहान ८ः३० बजे बैठक बस्दै छ । हामी सहमति नजिक पुगेका छौं ।’

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउन सक्ने आशय आफूहरुलाई स्वीकार्य नभएको बैठकपछि बताएका थिए । उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार छन् । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउने बताइएको छ ।