Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मिडियालाई तर्साउने कदम खेदजनकः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट प्रक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम रहेको बताएका छन् । ‘मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई सहित प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी र प्रहरी नायब उपरीक्षक अनिल घिमिरेको टोलीले थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सको कार्यालयबाटै सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो।

मंगलबार जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता सम्बन्धी विवादमा सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो। सिरोहिया विरुद्ध सर्लाहीका इन्द्रजीतप्रसाद महतोले नागरिकता छानबिनको माग गर्दै जाहेरी दिएका थिए।

सिरोहियाले भने कान्तिपुर दैनिकले सहकारीको नाममा भइरहेको ठगीको विरोधमा निरन्तर समाचार लेखेकै कारण आफूप्रति प्रतिशोध साँधिएको बताएका छन्। पक्राउ पुर्जी जारी भएपछि उनले एक विज्ञप्ति निकाल्दै भनेका थिए, ‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेरा विरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछ समेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन।’