नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्ञानेन्द्रपथमा लागेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रचण्डलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका हुन् । उनले सरकारले नाटकीय ढंगले सिरोहियालाई गिरफ्तार गर्नु राम्रो नदेखिएको बताए ।
‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ भट्टराईले लेखेका छन्, ‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौं! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु !’
नागरिकता प्रकरणमा प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाटै पक्राउ गरेको हो । । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो।
उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईको टोली कान्तिपुरको हेडक्वाटर पुगेको थियो ।
अंग्रेजीमा एउटा भनाइ छ-‘ You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन।
— Baburam Bhattarai (@brb1954) May 21, 2024
झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार… https://t.co/vHXVbjcIqt