Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसदमा कांग्रेसको मागः गृहमन्त्रीविरुद्ध तत्काल पक्राउ पुर्जी जारी होस्

देउवा र गगन थापामाथि छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न सरकारसँग माग गरेको छ । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सहकारी ठगीको आरोप लागेकी राप्रपाकी सांसद गीता बस्नेत पक्राउ परेकाले गृहमन्त्री लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्नुपर्ने बताएका हुन् ।

उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

‘सहकारी ठगीमा माननीय गृहमन्त्री लामिछानेको संलग्नताको दाबी सम्पूर्ण हिसाबले पुष्टि भएको छ । यस्तै खालको अभियोग भोगिरहेकी माननीय गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको छ । एउटै सदनका दुई जना माननीयमाथि एउटै अभियोग छ । एक जना पक्राउ पुर्जी जारी भएर फरारको सूचीमा रहनुपर्ने र अर्को गृहमन्त्री हुनुपर्ने यो कस्तो विडम्बना र कस्तो न्याय हो?,’ उनले भने, ‘माननीय गीता बस्नेतलाई जस्तै गृहमन्त्री लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी होस् ।’

सहमहामन्त्री पाण्डेले गृहमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्‍याउँदै उनको नाम किटान गरेर संसदीय छानबिन समिति नबनेसम्म आफूहरूले संसद बैठक चल्न नदिने बताए ।

देउवा र गगन थापामाथि छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन् ।

गत आइतबार गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाएका थिए । कांग्रेसका महामन्त्री गगन थापालाई कृषि अनुदान दुरुपयोग गरेको, विदेशीलाई सूचना बेचेको आदि आरोप लगाएका थिए ।नेपाली कांगेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत आइतबार दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांगेसका सहमहामन्त्री बद्री पाण्डेले उक्त माग गरेका हुन् । सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे संसद्लाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले लगाएका सम्पूर्ण आरोप निराधार रहेकाले उक्त अभिव्यक्ति संसदको रेकर्डमा रहन नहुने पाण्डेको धारणा थियो । यदि आरोप सत्य हुन् भने प्रमाणित गरेर देखाउन रुलिङ गर्न सभामुखलाई पाण्डेको आग्रह थियो ।

पार्टीका उपसभापति र महामन्त्रीमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै सांसद पाण्डेले सम्पूर्ण नेतामाथि छानबिन गर्न गृहमन्त्रीलाई चुनौती दिए । राष्ट्रिय सूचना बेच्ने एजेन्टहरु संसदमा छन् भन्ने गृहमन्त्री लामिछानेको आरोपलाई चुनौती दिँदै पाण्डेले भने, ‘गृहमन्त्री ज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन हामी तपाईंको साथमा लाग्ने छौं । हैन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने हामी तपाईंलाई गलहत्याउन पनि तयार छौं ।’