Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौं थलीमा मृत भेटिएका कृष्णका छोरी पछि छोरा पनि प्रहरी नियन्त्रणमा

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, सानोथलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोराछोरी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छोरा फर्पिङ र छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी प्रमुख, एसएसपी वसन्त राजौरेले जानकारी दिए । उनीहरूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि घटनामा उनीहरूको संलग्नताबारे अहिलेसम्म केही खुलेको छैन । भक्तपुर–७, छालिङका ५२ वर्षीय नगरकोटी मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा प्रहरीले उनको परिचय पत्ता लगाएको थियो । कपडाले मुख ढाकिएको अवस्थामा फेला परेको शव नजिकै दुईटा ब्लेड पनि भेटिएको थियो । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइसकेको छ ।