Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज मंगलबार बस्दै छ ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभा बैठकको कार्यसूची पनि सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउने, मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले जेठ १ गते राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेस गर्ने र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

हिजोको प्रतिनिधिसभा वैठकमा विपक्षी दलको अवरोधका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका थिए भने राष्ट्रियसभा वैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारीको रकम अपचलनको विषयलाई लिएर संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार सदनमा अवरोध गर्दै आएको छ ।

पछिल्लो समय कांग्रेसले समेत सहकारी छानविनको मागलाई थप प्रभावकारी बनाउन अन्य दलहरुलाई समेत समेट्दै विपक्षी दलहरुको मोर्चा नै बनाएको छ । विपक्षी दलहरुको हिजोको वैठकले सदन र सडकबाट संसदीय छानविन समितिको माग गर्ने निर्णय गर्दै सदन चल्न नदिने निर्णय गरेको छ ।