नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीचमा प्रतिनिधि सभाको बैठक अगाडि बढेको छ । आज बिहान साढे ११ बजे शुरु भएको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए । तर १५ मिनेटपछि शुरु भएको बैठकमा पनि कांग्रेसले नाराबाजी रोकेन ।
सभामुखले आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गरेका छन् । बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरे । सभामुखले प्रतिपक्षीलाई पेलेरै कारबाही शुरु गरे । उनले विश्वासको मत माग्न प्रधानमन्त्रीलाई रोस्ट्रममा बोलाए । प्रधानमन्त्रीलाई रोस्ट्रममा पुर्याउन मर्यादापालकको प्रयोग गर्नु परेको छ ।
प्रधानमन्त्रीले यो सरकारले धेरै राम्रा काम गरेको केही कुरा राखेर विश्वासको मत मागे । त्यसपछि विश्वासको मतको समर्थन गर्दै एमालेका विष्णु पौडेलले पनि सत्ता नपाएकोले कांग्रेस अत्तालिएर संसदमा अनैतिक र गैरराजनीतिक क्रियाकलाप गरिरहेको आरोप लगाएका छन् । उनले अहिलेको सरकार ढाल्न देशी(विदेशी तत्वहरूले खेलिरहेको र कांग्रेस त्यही षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । एकातिर नाराबाजी र अर्कोतिर विश्वासको मत लिने प्रक्रिया चलिरहँदा प्रतिनिधि सभामा रमिता देखिएको छ ।