Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रविको आरोपपछि गगनको प्रश्नः तपाईँ गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता?

‘गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, खोल्ने र अनुसन्धान गर्ने हो’

कांग्रेस महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत भएको बताएका छन् । संसद् बैठकलगत्तै पत्रकार सम्मेलन गरेर महामन्त्री थापाले गृहमन्त्री लामिछानेले उठाएको विषयको जवाफ दिदै प्रश्न गरे, ‘तपाईँ गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?’

महामन्त्री थापाले आज गृहमन्त्रीको प्रस्तुतिले उनी टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री भनेर अन्योल भएको बताए । थापाले भने, ‘पहिले एकैपटक भावनामा आएर विद्यानस्ट, आमाकसम‘ भन्नुहुन्थ्यो । कहिले नाकको डाँडी भाँचिदिन्छु भन्नुहुन्थ्यो । कहिले ठूलो मुटु भएको भनेर मुटुको साइज बताइदिनुहुन्थ्यो । आज मलाई गृहमन्त्री हो कि टिभी प्रस्तुता हो भन्ने आज मलाई अलिकति अलमल भयो । गृहमन्त्री हो भन्ने बिर्सिनुभयो कि भन्ने लाग्यो ।’

महामन्त्री थापाले आफूहरूलाई नधम्क्याउन र नतर्साउन चेतावनी पनि दिए । उनले पद र शक्तिमा भएको गृहमन्त्रीले छानबिन समिति बनाए सबैको फाइल खोल्दा हुने बताए । उनले भने, ‘ टिभी प्रस्तोता हुँदा त प्रश्नहरु सोध्नु, विषयहरु उठाउनु स्वभाविक हो । तर गृहमन्त्री त ठूलो जिम्मेवारी हो नि । त्यसमाथि पनि उपप्रधानमन्त्री । आज मैले उहाँले बोल्दै गर्दा यसो सुनिरहेको थिएँ, म तेरो फाइल खोल्दिउँ रु अनुसन्धान गर्दिउँ रु मेरो गर्छु भन्छस भने तेरो पनि गर्दिन्छु भन्दै हुनुहुन्थ्यो । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला त रु गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि । फाइल खोलेर देखाउनु, धम्काउने होइन ।’

महामन्त्री थापाले  ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक (एमडी)हुँदा ऋण लिने कुनै निर्णय नगरेको भन्ने तथ्यमा गम्भीर प्रश्न उठाए । थापाले १५ प्रतिशत सेयर होल्डर र प्रबन्ध निर्देशक भएका लामिछानेले भनेजस्तो निर्णय नै नगरी रातारात पैसा आउने परिकल्पना उनीबाहेक कसैले गर्न नसक्ने बताए ।

‘उहाँ ९रवि लामिछाने०ले बोल्दा ९संसद् बैठकमा० म ध्यान दिएर सुनिरहेको थिएँ । गोरखा मिडिया नेटवर्कले चलाएको ग्यालेक्सी टीभीमा एमडी हुँदा कुनै निर्णय नगरेको भन्नुभयो । तपाईंहरू पनि कतिपयले कम्पनी चलाउनुभएको होला, एमडीले निर्णय नै नगरी रातारात पैसा आउँछ रु,” थापाले भने, ‘उहाँले टेलिभिजनको अडिट रिपोर्टमा पटक–पटक ऋण लिएको भनेर सिग्नेचर गर्नुभएको छ ।’

लामिछानेले आफूविरुद्ध उजुरी नभएको र कतै अभियोजन पनि नगरिएको भनेर अर्को झुट बोलेको थापाको आरोप छ । उनले लामिछानेले आफूले मात्र झुट नबोलेर प्रहरी महानिरीक्षकलाई पनि झुट बोल्न लगाएको जिकिर गरे । भने, ‘उहाँविरुद्ध पोखरामा पूरक उजुरी परेको छ । त्यसमा सीआईबीले छानबिन गरेको छ । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी प्रत्येकमा उहाँको नाम छ । सुप्रिमको अभियोजन हुँदा उहाँको नामसहित अभियोजन छ । तर, विपक्षी मात्र बनाइएको छैन । उहाँ गृहमन्त्री भएपछि सीआईबीले  बैक खाताको कारोबार हेर्छु भनेको छ, त्यसलाई रोकिएको छ । छानबिन भइरहेका विषय उहाँ गृहमन्त्री भएपछि रोकेर अनुसन्धान गर्ने निकाय बचाउमा उत्रिनुपरेको छ ।’

पत्रकार सम्मेलनमा महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएका कागजात र सो विषयमा प्रहरी र सीआइबीले अनुसन्धान गरेका प्रमाणका कागजागतहरु सार्वजनिक गरे ।

‘तपाई सम्झिनुस् कि रवि लामिछानेको नाममा हरि लामिछाने भएको भए के हुन्थ्यो? अहिलेसम्म के भइसकेको हुन्थ्यो? प्रहरीले सोध्थ्यो कि सोध्दैन थियो?,’ महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएको खुल्ने कागजातहरु देखाउँदै भने, ‘प्रहरीले तालुकदार मन्त्रालयको नेतृत्वमाथि प्रश्न गर्दैन, गरेन । त्यहीकारण संसदीय छानबिन समिति गठन गर्न, छानबिन गर्न आवश्यक भएको हो ।’