Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कार्यादेश बनाउने बैठक निष्कर्षविहीन

सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आइतबार निष्कर्षविनै टुंगिएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ–आफ्ना अडानमा कायम रहँदा कार्यदलमा सहमति हुन नसकेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । त्यस्तै, कार्यदल सदस्य रास्वपा नेता शिशिर खनालले एक व्यक्तिलाई दोषी करार गरेर समिति बन्न नहुने अडानमा आफूहरु रहेको बताए ।  

उनले भने, ‘मिलाएर जाउँ भन्ने प्रयासमा छौं । एकहदसम्म पुरानै कुरामा छौं । एउटा व्यक्तिलाई दोषी करार गरेर त्यसमा केन्द्रित हुनुहुँदैन ।  उहाँहरू (कांग्रेस) ले ल्याउनुभएको भाषामा दोषी करार गरेको देखिन्छ । टीओआर बनाउँदा फलानो दोषी हो भन्ने विषयमा असहमति छ ।’ 

कार्यदलमा सहमति नजिक पुगेको भए पनि निष्कर्षमा नपुगेको बताएका उनले प्रतिनिधि सभाको बैठकपछि फेरि बस्ने जानकारी दिए ।  कार्यदलमा सहमति नजुटेपछि सांसदहरु प्रतिनिधि सभाको बैठकमा सहभागी हुन नयाँ बानेश्वरतर्फ हिँडेका छन् ।