Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर

हिमाली जिल्ला मुगुमा व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको विरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । मुगुका विभिन्न बस्तीहरु सडक सञ्जालमा जोडिएपछि बारिही जिल्लामा कृषकहरुले स्याउको विरुवा उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

स्याउको विरुवा माग बढ्न थालेपछि व्यवसायीक रुपमा खेती गर्दै आएका कृषकले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै २० नर्सरीबाट उत्पादित विरुवा बेचेर १७ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडाका किसान, मुगुम कार्मारोङ गाउँपालिकाको ३, ४, ६, ९ वडाको किसान एवं खत्याड गाउँपालिका २ देखि ७ नम्बर वडाका किसानले सुपरजोनमा रहेका ५ सय ५ हेक्टरमा उत्पादित स्याउका विरुवा जिल्ला र जिल्ला बाहिर बिक्री गर्दै आएका छन् ।

Photo (1).JPG

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्यन इकाई सिमी अन्तर्गत सुपरजोन क्षेत्रमा परेका ४ सय ५ क्षेत्रफलमा सञ्चालित २० वटा नर्सरीबाट उत्पादित २२ हजार ५ सय, जिल्ला कृर्षि विकास कार्यालय मुगुबाट ७ हजार ५ सय र अन्य संघ सस्थाबाट ५ हजार ५ सय गरी कूल ३५ हजार ५ सय स्याउका विरुवा बिक्री गरिएको थियो । प्रति स्याउको विरुवा ५० रुपैयाँका दरले किसानले बिक्री गरेका हुन् ।  

आव ०८१/०८१ मा मुगुका किसानले स्याउको विरुवा बेचेर १७ लाख ७५ हजार, ८ सय बोट दाने ओखरको विरुवा प्रतिगोटा ५ सय ५० रुपैयाँका दरले बेचेका तीन नर्सरीसञ्चालकले ४ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्यन इकाई सिमी र स्याउ जोन परियोजनाका प्रमुख तेज बिक्रम मल्लले जानकारी दिए ।

Photo (3).JPG

जिल्लामा पहिले पहिले जसरी परम्परागत अन्नबाली कोदो, कागुनो चिनो, जै, गहुँ, लगायतका खेति गर्दा उत्पादन भएको अन्नले परिवारलाई वर्षभरी खान समेत नपुग्ने अवस्था आएपछि पछिल्लो समय मुगुका स्थानीयको स्याउ, ओखर जस्ता फलफूल खेतीमा रुची बढाएका छन् । त्यसमाथि मुगुका कतिपय बस्ती सडक सञ्जालसँग जोडिएपछि स्थानीयले स्याउका विरुवा उत्पादन गरी बाहिरी जिल्लाहरुमा निर्यात गर्दै आएका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५मा ‘रितेश एण्ड दिपेश फलफुल र्नसरी’ सञ्चालन गरी विगत पाँच वर्षबाट स्याउको विरुवा उत्पादन गर्दै आएका कृषक शक्क बुढा भन्छन्, ‘यो वर्ष मात्रै स्याउको विरुवा बिक्री गरेर सात लाख बढी आम्दानी भयो । पहिलेजस्तो अन्न उत्पादन हुन छोडिसक्यो यसैबाट हाम्रो घरखर्च चलाउन सहज भएको छ ।’

Photo (6).JPG

पहिले पहिले जिल्ला बाहिरबाट विरुवा ल्याएर स्याउ खेती गर्ने कृषकहरु अहिले भने विरुवा उत्पादनमा आत्मनिर्भर भएसँगै बाहिरी जिल्लामा विरुवा निर्यात गर्ने अवस्थामा पुगेका छन् ।