Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको गयो ज्यान

गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । गोरखा सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय मेष तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान सकेर तामाङको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याएको छ ।

यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमल गाउँपालिका–५, पाडाजुंगी घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको उनले बताए । 

गम्भीर अवस्थामा उद्धार गरिएका उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।