संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेताहरुसँग गर्ने भनिएको छलफल आज हुन सकेन । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको छलफल भोलि (शनिबार) बिहानका लागि सारेका छन् ।
आज (शुक्रबार) बेलुका ६ बजेलका लागि बोलाएर संसद बैठक आइतबारसम्म सारिए पनि कार्य व्यस्तताका कारण देखाउँदै कांग्रेससँगको छलफल शनिबार बिहान ९ बजेका लागि सारिएको हो । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेसको अडानका कारण बिहीबार संसदको बैठकमा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न समिति बनाउन प्रधानमन्त्री, लामिछानेको दल रास्वपा र विपक्षी कांग्रेस तयार भए पनि रविको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा कुरा नमिलेको अवस्थामा बिहीबारको घटना भएको थियो ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकका लागि संसद भवन बानेश्वर पुगेपछि मात्रै दलहरुबीच संवाद सुरु भएको थियो । प्रधानमन्त्रीले आग्रह गरेपछि सभामुख घिमिरेले सदन आइतबारका लागि सार्न तयार भएका हुन् । कांग्रेससँगको भेटमा प्रधानमन्त्री छानबिनका लागि समिति बनाउन तयार भए पनि सत्ता पक्षको ठूलो दल एमाले यसका लागि तयार छैन ।