Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

काँग्रेसले छानबिन समिति बनाउने हठबाट पछि हटे हामी पनि लचक हुन्छौं - योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्रीको नाम किटेर संसदीय छानबिन समिति बनाउने हठबाट नेपाली काँग्रेस पछि हट्नुपर्ने बताएका छन्।

संसद भवन परिसरमा पत्रकारहरूसँग बोल्दै भट्टराईले काँग्रेस ले एउटै कुरा लगातार उठाइरहेको भन्दै त्यो हठबाट पछाडि हट्नुपर्ने बताए। काँग्रेस हठबाट पछि हटे आफूहरू पनि लचकताका साथ प्रस्तुत हुने उनको भनाइ थियो।

‘निश्चित व्यक्तिलाई केन्द्रित गरेर समिति बनाउने कुरा संसदीय अभ्यासभित्र पर्दैन। त्यसमा हामी सहमत हुन सक्दैनौँ।’ भट्टराईले भने, ‘ काँग्रेस साँच्चै सहकारी पीडितको समस्या समाधान गर्न गम्भीर हो भने समस्याग्रस्त सबै सहकारीको छानबिनका लागि समिति बनाउन हामी पनि लचक छौं।’

सदनको अवरोध अन्त्य गर्नका लागि प्रधानमन्त्रीले शुक्रबार साँझ काँग्रेस सँग छलफल गर्न लागेको उनले जानकारी दिए। काँग्रेस कै आग्रहमा शुक्रबारको संसद बैठक आइतबारका लागि सारिएको उनले बताए।