दलहरूका प्रमुख सचेतक, सचेतक र सभामुख देवराज घिमिरेबीचको बैठक सकिएको छ । बैठकमा विपक्षी दलहरूले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान सुनाएका छन् ।
विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुको बैठकपछि सभामुखलाई भेटेर यस्तो ध्यानाकर्षण गराइएको थियो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार वेल विपक्षको भएको र प्रतिपक्षले आवाज उठाउँदा र माग राख्दा सदनमा जबर्जस्ती सदन चलाउने काम हुनुहुँदैन भनेर सभामुखलाई भनिएको छ ।हिजोजस्तै सदन चलाउने सभामुखको मनसाय भएको भए कांग्रेसबाहेकका विपक्षी दल पनि वेलमा ओर्लने चेतावनी दिइएको छ । विपक्षले ध्यानाकर्षण गराएपछि सभामुख अहिले सत्तापक्षका नेताहरुसँगको छलफलमा छन् ।
सभामुखसँगको बैठकमा विपक्षी दलका नेताहरूले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका थिए । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोध हुँदै गर्दा बैठक चलाउन मिल्दैन भनेर सभामुखलाई आग्रह गरेको बताए । उनले भने, ‘छानबिन समिति नबन्दासम्म बैठक चल्दैन । जबर्जस्ती चलाउन खोजेपछिको परिस्थितिको जिम्मा सभामुखले लिनुपर्छ ।’