Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

संसदमा कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल, ओलीमाथि धनराजको ‘अभद्र व्यवहार’

होहल्लाबीच राष्ट्रपति कार्यालयको पत्र वाचन, बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अब अर्को बैठक भोलि बिहान ११ बजेका लागि तोकिएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसदमा कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल भएको थियो । त्यसपछि बैठक स्थगित भएको घोषणा भयो ।

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका छन् । ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरु पनि धकेलाकेलमा उत्रिएका थिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राख्दै सदन अवरोध गर्दै नाराबाजी गर्दै वेल घेराउ गर्दै आइरहेको छ । कांग्रेसको नाराबाजीबीच सभामुखले राष्ट्रपतिबाट प्राप्त भएको पत्र पढेर सुनाएका थिए ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले निरन्तर प्रयास गरेपनि सहमति जुट्न नसकेको हो ।