नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।
