Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैनः ओली

‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी छैन’

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिए ।

‘कांग्रेस बोल्दा हामीले सुन्नु पर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब ।’ ओलीले थपे, ‘पहिले रवि लामिछानेले बोल्न पाउनु पर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनु पर्ने हुँदैन । हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ ।’

उनले संसद भोलिबाट चालु हुनुपर्ने पनि बताएका छन् । ‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्ने? कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनु पर्ने?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन । कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन ।’ उनले आफूहरू मिलाउन लागिपरेको भन्दै उल्टै आफूहरूमाथि हमला गर्न खोजिएको भन्दै आक्रोश पोखे ।