प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । संसदीय छानबिन समितीको माग गर्दै संदन अवरुद्ध गरेको कांग्रेसले अहिले सडकमा पनि प्रदर्शन गर्न तीब्र पारेको छ ।
आज बुधबार कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा ‘गुड मर्निङ केपी बा, चिया खानु भो?, रवि दाइ ,खै जिवी राई? ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्लेकार्ड प्रदर्शन गदै नाराबाजी गरेका छन् । गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै भन्दै विद्यार्थीले प्रश्न समेत गरेका हुन् ।
सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरुपयोग भएको र त्यसमा गृहमन्त्री समेत जोडिदा पनि सरकार गम्भीर नभएको नेविसंघले जनाएको छ । कांग्रेस निकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दै छ । यता, गृहमन्त्री रवि लामिछानेले भने सहकारी प्रकरणबारे आफूले संसद्मा बोल्न पाउनुपर्ने बताउँदै आएका छन् ।