Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसदको अवरोधका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धन दलहरुको बैठक आज बुधबार बस्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा संसद्को गतिरोधको विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्ता पक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिएका हुन् ।

घिमिरेलेले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत पारित नभएको सन्दर्भमा प्रतिपक्षी दलसँग तत्कालै सहमति गर्न अपिल गरेपछि प्रचण्डले भोलि बस्ने संसद बैठक सहज ढंगले अगाडि बढ्ने बताए । प्रधानमन्त्री र सभामुखबीच करिब ४५ मिनेट संसद अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताएका छन् । सभामुख घिमिरेले संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै मंगलबार बेलुका बसेको संसद बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले संसदीय छानबिन समिति माग गर्दै संसद अवरुद्ध पारेको हो ।

कांग्रेसले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाउँदै जेठ ३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । समिति गठन नभएसम्म अवरोध जारी राख्ने कांग्रेसको अडान छ । पछिल्लो समय गृहमन्त्री लामिछानेले आफूले संसदमा जवाफ दिन पाउनुपर्ने त्यसपश्चात छलफल गर्न सकिने बताउँदै आएका छन् ।