पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो सोमबार ललितपुरको धार्मिक भ्रमण गर्ने भएका छन्। उनले ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिर लगायतका धार्मिक स्थानमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव डा.पाठकले मंगलबार जारी गरेका विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरको भ्रमण गर्ने कार्यक्रम रहेको रहेको उल्लेख गरेका थिए ।
भ्रमण गर्ने निर्णय भएपछि संवाद सचिवालयले हिजो मंगलबार विज्ञप्ति जारी गरेको थियो। विज्ञप्ति आए लगत्तै पूर्व राजाको सुरक्षा टोलीले भ्रमण गर्ने धार्मिक स्थलमा रेकी गरेको छ। टोलीले ललितपुरको सुरक्षा अवस्थाबारे समेत जानकारी लिएको थियो। राजावादीको आमन्त्रणमा ज्ञानेन्द्र परिवार ललितपुरको कोर क्षेत्रमा रहेको मन्दिर भ्रमणमा निस्कन लागेका हुन्।
यसअघि सिमरा बसाइँको क्रममा वीरगन्ज, कलैया गढीमाई, मकवानपुर लगायत जिल्लामा नागरिक अभिनन्दन गरेको थियो । भैरहवा रहँदा विभिन्न धार्मिक क्षेत्रको भ्रमण र नागरिक अभिनन्दन भएको थियो।
ललितपुरको धार्मिक यात्रा लगत्तै पूर्वराजा ज्ञानेन्द्रको स–परिवार थाइल्याण्ड भ्रमणमा जाने कार्यक्रम तय भएको छ। स्रोतका अनुसार ज्ञानेन्द्रका बुहारी एवं पूर्व युवराज्ञी हिमानी शाहसहितको केही आफन्त ४ गते र पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसहितको केही टोली ११ गते थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ।
करिब एक महिना लामो विदेश यात्रामा निस्कन लागेका ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्ने ससम्मको कार्यक्रम तय भएको छ।