सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बुधबार सकिँदैछ । जारी बैठकमा सोमबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।
यस्तै उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर यी प्रतिवेदनमाथि छलफल भइरहेको छ । मंगलबार समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ । राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् ।
देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ । समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरूप, आर्थिक रूपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् । विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ।
कायम रहेको ७० वर्षीय उमेर हद हटाउने भनिएको छ । सांगठनिक दस्तावेजमा देशभर पार्टीको संगठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त संगठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख गरिएका छन् । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । पार्टीले आगामी असारमा काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ । यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल गरिने छ ।