उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरू आएको बताएका छन् ।
मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले केही पुराना कार्यक्रमका साथै धेरै राम्रा नयाँ कार्यक्रम आएको जिकिर गरे । गृह मन्त्रालयमार्फत सबै तहका प्रहरी कर्मचारीहरूको अवकाश समय पुनरवलोकन गर्ने, बढुवाका कुरा, खुला कारागारसहितका नयाँ कार्यक्रम आएको उनको भनाइ छ ।
उनले सरकारको कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले बजेटमार्फत सरकारको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास रहने पनि बताए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी आएको बताएका छन् । मंगलबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले क्रमिक सुधार गर्ने गरी आएको बताएका हुन् ।
‘दर्जनौं क्रमिक सुधारका बीउ यसपटक रोपिएको छ । बजेटसँग लिंकेज हुने सम्भावना ह्वात्तै बढ्यो,’ उनले भने,‘बजेट आइसकेपछि कार्यान्वयनमा जाने पनि सम्भावना ह्वात्तै बढेको छ ।’ पहिले ठूला कुरा गर्ने तर त्यसअनुसारको बजेट नआउँदा तादाम्यता नमिलेको उनले बताए । १५ जेठमा आउने बजेटबाट नीति तथा कार्यक्रम कार्यान्वयन हुने ढोका खोल्ने उनले बताए ।
नीति तथा कार्यक्रमले सुधारको जग बसालेको र यसमा टेकेर बजेट आउने उनको भनाइ छ ।